ओझेलमा गाजरी झरना : संरक्षण र पूर्वाधारको पर्खाइमा गोदावरीको प्राकृतिक स्वर्ग

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–४ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाजरी झरना संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसारको अभावका कारण आफ्नो वास्तविक पहिचान बनाउन संघर्षरत छ। अपार पर्यटन सम्भावना बोकेको यो झरना आवश्यक लगानी र व्यवस्थापन नहुँदा अझै पनि ओझेलमै परेको छ।

CP Hospital Dhangadhi

स्याउले बजारबाट करिब १५ किलोमिटर पहाडी दूरीमा रहेको गाजरी झरनासम्म पुग्न चेप्टेखोला सडक हुँदै यात्रा गर्नुपर्छ। मनमोहक प्राकृतिक दृश्य, शान्त वातावरण र मनोरम झरनाका कारण यहाँ दैनिक रूपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। तर सडक, विश्रामस्थल, खानेपानी, सुरक्षा तथा अन्य आधारभूत पूर्वाधारको अभावले पर्यटकले अपेक्षित सुविधा पाउन सकेका छैनन्।

गाजरी बस्तीका स्थानीय युवा नविन बुढा मगर झरनातर्फ जाने बाटोमा रहेको एकमात्र पसल सञ्चालन गर्दै आएका छन्। स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्री गरेर जीविकोपार्जन गरिरहेका उनी यस क्षेत्रको पर्यटन विकासका लागि पनि निरन्तर सक्रिय छन्।

nawajiwan

उनका अनुसार गाजरी झरनाको विकास र प्रवर्द्धनका लागि स्थानीय तहदेखि प्रदेश सरकारसम्म पटक–पटक पहल गरिए पनि हालसम्म कुनै ठोस योजना वा बजेट विनियोजन भएको छैन।

Attariya Hospital

“धेरै निकायमा पुगेर पर्यटन विकासका लागि आग्रह गर्यौं, तर अहिलेसम्म कुनै बजेट छुट्याइएको छैन,” बुढा मगर भन्छन्। “यहाँ आउने पर्यटकहरूले सामाजिक सञ्जालमार्फत झरनाको प्रचार गरिरहेका छन्। सम्बन्धित निकायले समयमै चासो दिएको भए यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसक्थ्यो।”

स्थानीयवासीहरूले आफ्नै श्रमदानबाट झरनासम्म पुग्न सहज हुने फुट ट्र्याक निर्माण गरेका छन्। यसले पर्यटकलाई केही राहत दिएको भए पनि व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्न थप पूर्वाधार निर्माण अपरिहार्य रहेको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार झरना क्षेत्रमा खानेपानी, विश्रामस्थल, सुरक्षा घेराबार, सूचना केन्द्र, सरसफाइ व्यवस्थापन, आकर्षक फोटो स्पट तथा पार्किङको व्यवस्था गर्न सके गाजरी झरनाले आन्तरिकसँगै बाह्य पर्यटकसमेत आकर्षित गर्न सक्छ।

प्राकृतिक सम्पदाले भरिपूर्ण गाजरी झरना केवल गोदावरी नगरपालिकाको मात्र होइन, सिंगो सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने क्षमता बोकेको छ। तर त्यसका लागि सम्बन्धित निकायको दूरदर्शी योजना, पर्याप्त लगानी र प्रभावकारी संरक्षण अभियान अपरिहार्य रहेको स्थानीयहरूको जोड छ।