
बैतडीको पुर्चौडी नगरपालिका–६ स्थित वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। २०७६ सालदेखि निर्माण सुरु भएको वडा कार्यालय जोड्ने करिब ५ किलोमिटर धम्ध्वा–खडायत गाउँ–वडा कार्यालय सडक तत्काल सम्पन्न गर्नुपर्ने माग गर्दै स्थानीयले जेठ २७ गते तालाबन्दी गरेका हुन्।

स्थानीय चक्रसिंह खडायतका अनुसार वडा र नगरपालिकाले सडक निर्माणप्रति चासो नदेखाएको आरोप लगाइएको छ। प्रदेश सरकारको बजेटबाट निर्माणाधीन उक्त सडकमा खडायत गाउँकै एक स्थानीयले घरमा असर पर्ने भन्दै अवरोध गरेपछि काम रोकिएको हो।

सडक निर्माणमा अवरोध हटाउन स्थानीय तहले पहल नगरेको भन्दै खडायत गाउँका ४७ जनाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। वडा अध्यक्ष नरेन्द्रबहादुर साउँदले सम्बन्धित पक्षसँग छलफल भइरहेको बताउँदै सहमति नभए प्रशासनको समन्वयमा काम अघि बढाइने जानकारी दिए।

सडक निर्माण रोकिँदा प्रदेश सरकारको २५ लाख रुपैयाँ बजेट फिर्ता हुने जोखिम बढेको छ। यसअघि पनि १५ लाख रुपैयाँ फिर्ता भइसकेको वडा कार्यालयले जनाएको छ।
































