
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनको निर्वाचन परिणाम बदर गर्ने केन्द्रको निर्णयप्रति सुदूरपश्चिममा तीव्र असन्तुष्टि देखिएको छ। केन्द्रीय निर्वाचन आयोगले प्रक्रियागत त्रुटि भएको भन्दै आइतबार अधिवेशनको नतिजा र कार्यसमिति बदर गरेको थियो।

धनगढीमा सुरु भएको प्रदेश महाधिवेशनमा प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्टले निर्णयप्रति आक्रोश व्यक्त गर्दै परामर्शविनै गरिएको कदम अन्यायपूर्ण भएको बताए। ३३५ मतमध्ये २३८ मत ल्याएर निर्वाचित नेतृत्वलाई हटाउनु प्रतिनिधिमाथिको अपमान भएको उनको भनाइ छ।


प्रतिनिधिसभा सदस्य जगतप्रसाद जोशीले पनि निर्वाचनमा रातिसम्म सहभागी भएर गरिएको प्रक्रियालाई पछि बदर गर्नु गलत भएको टिप्पणी गरे। नेता लक्ष्मण थारुले निर्णयप्रति आश्चर्य व्यक्त गर्दै विधि र प्रक्रियाको सम्मान गर्नुपर्नेमा जोड दिए।
नेताहरूले केन्द्रले छानबिन समिति गठन गर्न सक्थ्यो भन्दै निर्णय सच्याउन माग गरेका छन्। उनीहरूले पार्टीलाई विधि र पारदर्शिताको बाटोबाट अघि बढाउनुपर्नेमा जोड दिँदै केन्द्रको हस्तक्षेपप्रति असन्तुष्टि जनाएका छन्।
































