
दक्षिणी क्यालिफोर्नियास्थित एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयमै अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटनामा परेको छ, जसमा आठ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान ११:२० बजे नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि आकाशमा कालो धुवाँको ठूलो मुस्लो उठेको थियो, जुन टाढाबाट समेत देखिएको जनाइएको छ।

एडवर्ड्स एयर फोर्स बेसका कर्नेल जेम्स हेयसले यस घटनालाई “भयानक त्रासदी” भन्दै आठ जना “महान् अमेरिकी” गुमाएको पुष्टि गरेका छन्। उनका अनुसार मृतकहरूमा सैन्य कर्मचारी, सरकारी कर्मचारी तथा सरकारी ठेकेदारहरू रहेका छन्।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा कुनै पनि व्यक्ति जीवित नरहेको देखिएको छ। घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको अमेरिकी वायुसेनाले जनाएको छ।
































