
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकका प्रधानमन्त्री अली अल–जैदीबीच आगामी जुलाईको मध्यतिर ह्वाइट हाउसमा उच्चस्तरीय भेटवार्ता हुने भएको छ। बगदादस्थित अमेरिकी दूतावासका अनुसार राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री अल–जैदीलाई स्वागत गर्दै द्विपक्षीय सम्बन्ध, सुरक्षा सहकार्य तथा क्षेत्रीय स्थायित्वका विषयमा छलफल गर्ने तयारी गरेका छन्।

राष्ट्रपतिका विशेष दूत टम ब्याराक र इराकी प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिअनुसार बगदाद भ्रमणका क्रममा इराकमा सक्रिय सशस्त्र समूहहरूको निशस्त्रीकरण तथा विघटनबारे विशेष छलफल भएको थियो। अमेरिकाले इरान समर्थित सशस्त्र समूहलाई नियन्त्रणमा लिन इराकमाथि दबाब बढाइरहेको छ भने इराक सरकारले राज्यको नियन्त्रणबाहिर रहेका हतियार व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

मे महिनामा वासिङ्टनले सुरक्षा सुधारका लागि ठोस कदम चालिएपछि वित्तीय हस्तान्तरण र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिबद्धता जनाएको थियो। मध्यपूर्वमा युद्धविराम घोषणा भएसँगै क्षेत्रीय तनाव केही कम भए पनि इराक अझै अमेरिका र इरानबीचको प्रभाव संघर्षको केन्द्र बनेको छ।

प्रधानमन्त्री अल–जैदीले राज्यको हतियारमाथिको एकाधिकार कायम गर्ने, साथै अमेरिकासँग व्यापार, लगानी र आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। आगामी ट्रम्प–अल–जैदी भेटलाई इराक–अमेरिका सम्बन्धलाई नयाँ दिशा दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।































