
रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले रुसी राजधानी मस्कोमाथि सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ। मस्को र आसपासका क्षेत्रलाई लक्षित गर्दै करिब २०० ड्रोन प्रहार गरिएका थिए, जसका कारण विभिन्न स्थानमा आगलागी हुनुका साथै आकाश बाक्लो कालो धुवाँले ढाकिएको थियो।

मस्कोका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार आक्रमणमा १७ जना घाइते भएका छन्। रुसी रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर करिब १,००० युक्रेनी ड्रोन र चार क्रूज मिसाइल खसालिएको दाबी गरेको छ। दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको एक तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको जनाइएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो हमला गत साता रुसले कीभमा गरेको आक्रमणको प्रतिक्रियास्वरूप गरिएको बताएका छन्। उनले युद्ध अन्त्यका लागि रुसले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै, “यदि युक्रेन जल्यो भने, मस्को पनि जल्नेछ,” भन्ने चेतावनी दिएका छन्। दक्षिणपूर्वी मस्कोस्थित कपोट्नया तेल रिफाइनरीमा पनि आगलागी भएको छ भने सामाजिक सञ्जालमा शक्तिशाली विस्फोटका भिडियोहरू व्यापक रूपमा फैलिएका छन्।
































