राष्ट्रपति भवनमा राष्ट्रिय चलचित्र पुरस्कार २०८३ सम्पन्न, ‘उनको स्वीटर’ उत्कृष्ट फिल्म

Image
Nisarga Hospital

नेपाली चलचित्र क्षेत्रका उत्कृष्ट स्रष्टा, कलाकार तथा प्राविधिकलाई सम्मान गर्ने उद्देश्यसहित राष्ट्रिय चलचित्र पुरस्कार २०८३ शुक्रवार राष्ट्रपति भवन, शीतल निवासमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

CP Hospital Dhangadhi

वरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठलाई नेपाली चलचित्र क्षेत्रमा दीर्घकालीन योगदानको कदरस्वरूप ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ। सो सम्मानसँगै उहाँलाई ३ लाख ७५ हजार रुपैयाँ नगद पनि प्रदान गरिएको थियो। यस वर्षको उत्कृष्ट चलचित्रको रूपमा ‘उनको स्वीटर’ घोषित भएको छ, जसले २५ हजार रुपैयाँसहित सम्मान प्राप्त गर्‍यो। सोही चलचित्रका निर्देशक नबिन चौहान उत्कृष्ट निर्देशक र अभिनेत्री मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। उनीहरूले पनि २५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

फिल्म ‘परान’ का नीर शाह उत्कृष्ट अभिनेता घोषित भए भने लेखकद्वय दीपक प्रसाद आचार्य र यम थापा उत्कृष्ट लेखकका रूपमा सम्मानित भए। प्राविधिक विधातर्फ ‘कोशेढुंगा’ का बाबु श्रेष्ठ उत्कृष्ट छायांकन तथा नहकुल खड्का उत्कृष्ट सम्पादनतर्फ पुरस्कृत भए। आदिवासी भाषाको चलचित्र ‘इन्दिरा धिमे मैचा’ उत्कृष्ट आदिवासी चलचित्र घोषित भयो।

nawajiwan
Attariya Hospital

जुरी प्रोत्साहन पुरस्कार ‘रमिताको पिरती’ की आना शर्मा र ‘झरी पछीको इन्द्रेणी’ का बिमोचन दवाडीलाई प्रदान गरियो। विशेष चलचित्र पुरस्कार ‘नाक्छोङ’ लाई दिइएको छ, जसका निर्देशक ज्योति राज राईको सिर्जनात्मक योगदानको प्रशंसा गरिएको थियो।

कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका विष्णु गोपाल श्रेष्ठ, मेनुका प्रधान, डा. सिंह गुरुङ, प्रकाश सुवेदी, अभिनाश विक्रम शाह, रोहित रुम्बा, एञ्जिला सुब्बा, लक्ष्मी बर्देवा, विनोद सेरचन र शङ्कर पाण्डेलगायतलाई विशेष सम्मान प्रदान गरियो। स्वर्गीय दिनेश सिटौलालाई मरणोपरान्त सम्मान दिइएको थियो।

सांगीतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रमले नेपाली चलचित्र क्षेत्रलाई थप प्रेरणा र उत्साह प्रदान गरेको सहभागीहरूले बताएका छन्।