
दक्षिणी लेबनानको नबातीह जिल्लामा शुक्रबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। आवासीय क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणपछि विभिन्न गाउँ तथा सहरमा ठूलो क्षति पुगेको छ।

हारुफ, शर्कीह र कफर सर सहरहरूमा भएका आक्रमणमा घर तथा पूर्वाधारमा क्षति भएको छ भने कफर, रेमेन, कफर तेबनिट लगायतका क्षेत्रमा हताहत, घाइते तथा बेपत्ता हुने घटना भएको रिपोर्ट गरिएको छ। इजरायली लडाकु विमानहरूले नबातियाह शहर, कफर तेबनिट, नबातियाह अल–फाका र रिहान हाइट्सलाई लक्षित गरी लगातार हवाई आक्रमण गरेका थिए।
प्रारम्भिक विवरण अनुसार पबच क्षेत्र र विश्वविद्यालय नजिकै भएको आक्रमणमा आठ जनाको मृत्यु भएको छ। शार्कियाह र डुइरबीचको क्षेत्रमा एक घर ध्वस्त हुँदा थप चार जनाको ज्यान गएको बताइएको छ। कफर क्षेत्रमा भएको छुट्टै आक्रमणमा तीन जनाको मृत्यु भएको छ।


त्यस्तै, डुइर नगरपालिका भवन नजिकै मोटरसाइकललाई लक्षित ड्रोन आक्रमणमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्। गोलाबारीसँगै जेबचित क्षेत्रमा पनि श्रृङ्खलाबद्ध ड्रोन आक्रमण भएको जनाइएको छ।
क्षेत्रीय तनाव कम गर्ने कूटनीतिक प्रयास चलिरहेकै बेला भएको यो आक्रमणले लेबनान–इजरायल सीमामा सुरक्षा अवस्था थप जटिल बनेको छ।
































