हाजिरी जवाफ प्रतियोगितामा विणा विद्या मन्दिर प्रथम, विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धिमा हेमा श्री फाउण्डेशनको पहल

Image
Nisarga Hospital

आधारभूत तहका विद्यार्थीको ज्ञान, आत्मविश्वास तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गौरीगंगा–६ का चार विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रम संयोजक तथा फाउण्डेशनका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले यस्ता प्रतियोगिताले विद्यार्थीमा सामान्य ज्ञानप्रतिको रुचि बढाउनुका साथै बौद्धिक क्षमताको मूल्याङ्कन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

हेमा श्री फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका संस्थापक उपकुलपति डा. टी.एन. जोशी प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिमा अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर कुँवर र प्रधानाध्यापक उजिरसिंह कुँवर सहभागी थिए। कार्यक्रममा कैलाली भिजन स्कूलका प्रधानाध्यापक ध्वज बोगटी, जुपिटर एकेडेमी नेपालका प्रधानाध्यापक मनिराम धामी, विणा विद्या मन्दिरका प्रधानाध्यापक दल बोगटी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि डा. टी.एन. जोशीले हाजिरी जवाफलाई बौद्धिक खेलको उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीको तार्किक क्षमता, अध्ययन संस्कार र प्रतिस्पर्धात्मक भावना विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले शिक्षा क्षेत्रमा फाउण्डेशनले गरिरहेको योगदानको प्रशंसा समेत गरे।

प्रतियोगितामा विणा विद्या मन्दिर प्रथम, जुपिटर एकेडेमी नेपाल द्वितीय, अमर माध्यमिक विद्यालय तृतीय तथा कैलाली भिजन स्कूल सान्त्वना हुन सफल भए। विजेता विद्यार्थीहरूलाई कपी, ज्यामितीय बक्स, डटपेन तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना समूहलाई पनि डटपेन वितरण गरिएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा मेखराज जोशी, ध्वजबहादुर बोगटी र निर्मल भण्डारी रहेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक नवीन विष्टले गरेका थिए।

हेमा श्री फाउण्डेशन नेपालले गरिब, असहाय तथा अवसरबाट वञ्चित बालबालिकालाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक सहयोगका विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। फाउण्डेशनले यस्ता शैक्षिक तथा बौद्धिक गतिविधिमार्फत विद्यार्थीको समग्र विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan