
बझाङः “सानै छु म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ” भन्ने मूल नाराका साथ बझाङ जिल्लाको चैनपुरमा जिल्ला स्तरीय बाल भेला, बाल सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बाल अधिकारको संरक्षण, प्रवर्धन तथा बालबालिकाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका बालबालिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बालविवाह न्यूनीकरण तथा बालमैत्री समाज निर्माणका विषयमा छलफल र अभिमुखीकरण गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासका सवालमा आफ्नो धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । साथै बालबालिकाको आवाजलाई नीति तथा योजना निर्माण प्रक्रियामा समावेश गर्नुपर्ने आवश्यकता औँल्याएको थियो।

कार्यक्रमबाट सबै पालिका समेटिने गरेर जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । जसमा विनोद जोशी अध्यक्ष , भाबना पुजारा उपाध्यक्ष, अन्जना बुढा सचिव, शान्ति धामी कोषाध्यक्ष रहने गरी १४ सदस्यीय जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।
नवगठित सञ्जालले जिल्लाभरिका बालबालिकाका समस्या, आवश्यकता र अधिकारका विषयमा वकालत गर्दै स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्ने विश्वास व्यक्त गरिएको छ।
सामाजिक विकास कार्यालय बझाङको आयोजना र सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । आयोजकले बालविवाह, बालश्रम, हिंसा तथा विभेद अन्त्यका लागि बालबालिकाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
सामाजिक विकास कार्यालयका प्रमुख प्रयाग राज जोशीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा, रहनुभएको थियो भने कार्यक्रममा जयपृथबी नगरपालिका नगर प्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, सुरक्षा निकायका प्रमुख सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशी लगाएत सरोकारवालाको उपस्थिति रहेको थियो ।

































