
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी सानुराम भट्टराईले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

आफूले कमाण्ड सम्हालेको तीन दिन पुगेको भन्दै शनिबार धनगढीमा आयोजित नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको साधारण सभालाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रबाट पनि सकारात्मक र जिम्मेवार भूमिकाको अपेक्षा रहेको बताए। डीआईजी भट्टराईले प्रहरी अधिकृतहरू सामान्यतया एक वर्षका लागि प्रदेशमा आउने भएकाले समन्वय गर्दै कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।

यस्तै उनले सुदूरपश्चिमको प्रहरी संगठनभित्र पनि केही खराब व्यक्ति र नकारात्मक प्रवृत्ति हुन सक्ने स्वीकार गर्दै त्यस्ता पक्षलाई सुधार गर्दै जानुपर्ने बताए। त्यस्तै भट्टराईले अनुसन्धानका क्रममा संवेदनशील मानिने महिला तथा बालबालिकासम्बन्धी घटनामा विशेष सावधानी अपनाउन सञ्चारकर्मी र युट्युबरहरूलाई आग्रह गरे।

यस्ता घटनाका विवरण वा पीडितको पहिचान खुल्ने सामग्री सार्वजनिक हुँदा पीडितलाई थप मानसिक पीडा पुग्न सक्ने भएकाले जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने उनको भनाइ थियो। उनले प्रहरी र सञ्चार क्षेत्रबीच सहकार्य बलियो भए मात्र शान्ति सुरक्षा र न्यायिक प्रक्रिया प्रभावकारी बन्ने विश्वास पनि व्यक्त गरे बताए ।
































