
अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएको “नागरिकसँग मेयर घरदैलो कार्यक्रम तथा नसर्ने रोगको पहिचान अभियान” औपचारिक रूपमा समापन भएको छ। २०८३ असार ६ गते कृष्णपुर–०१, भेटघाट शिविरमा विशेष समारोहका बीच कार्यक्रम सम्पन्न गरिएको हो। “स्वस्थ नागरिक, समृद्ध नगर—हाम्रो प्रतिबद्धता, तपाईँको साथ” भन्ने नारासहित स्वास्थ्य शाखाले सञ्चालन गरेको यस अभियानले नगरवासीको स्वास्थ्य समस्यालाई घरदैलोमै पुगेर पहिचान गर्ने लक्ष्य राखेको थियो।

अभियान अन्तर्गत रक्तचाप, सुगर र पिसाबमा प्रोटिन जाँचसहितका आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको थियो। नगरभित्रका १३ हजार ८९४ घरधुरी समेटिँदा कुल ३६ हजार ९ सय ५ सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन्। सेवा लिनेमा ५६.५ प्रतिशत महिला र ४३.५ प्रतिशत पुरुष रहेका छन्। परीक्षणका क्रममा ३६ हजार ८११ जनाको रक्तचाप जाँच गर्दा १ हजार ८१ जनामा उच्च रक्तचाप देखिएको छ।

त्यस्तै, ६ हजार ५७५ जनाको सुगर परीक्षणमा ८१९ जनामा समस्या देखिएको छ। ५ हजार ८० जनाको पिसाब परीक्षणमा ३८६ जनामा सुगर, २५२ जनामा प्रोटिन र ६३१ जनामा पीएच असन्तुलन भेटिएको छ। साथै ४ हजार १८२ जनामा सिकलसेल परीक्षण गरिएको छ भने १ वर्ष मुनिका ६५१ बालबालिका र ४६१ सुत्केरी महिलाको स्वास्थ्य अनुगमन गरिएको छ।

कार्यक्रमले विपन्न उपचारसम्बन्धी जानकारी, सरुवा रोग पहिचान र जनचेतनामार्फत नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गरेको स्वास्थ्य शाखाले जनाएको छ।
































