
कैलालीको घोडाघोडी नगरपालिकाका पत्रकार रोशन रसाइलीलाई समाचार लेखेकै आधारमा राति घरमै गएर ज्यान मार्ने धम्की दिइएको छ ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार रसाइलीले सञ्चालन गर्दै आएको जनहित खबर अनलाइन तथा जनहित खबर टिभीको फेसबुक पेजमा प्रकाशित तथा प्रसारित समाचारका कारण घोडाघोडी नगरपालिका–८ स्थित मोहनी आधारभूत विद्यालयसँग सम्बन्धित विषयमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भोजबहादुर शाहीले धम्की दिएको उल्लेख गरेको छ ।

सार्वजनिक भएको अडियोमा शाहीले पत्रकार रसाइलीको नामै लिएर “म बरु १० वर्ष जेल जान्छु, त्यसलाई छोड्दिनँ” भन्ने आशयको धम्की महासंघले जनाएको छ । महासंघले समाचारप्रति असहमति वा विमति भए कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको छ । साथै पत्रकारलाई धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका सचिव तेजराज भट्टद्वारा जारी विज्ञप्तिमा पत्रकारको पेशागत सुरक्षाको सुनिश्चितता गर्न तथा प्रेस स्वतन्त्रताको संरक्षण गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
































