
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिए पनि अमेरिका र इरानबीचको वार्ता निरन्तर अगाडि बढिरहेको छ। अमेरिकी पक्षले वार्ता जारी रहेको र प्रक्रिया ‘रातभरि चल्ने’ अपेक्षा गरिएको जनाएको छ।

यसअघि ट्रम्पले एक अन्तर्वार्तामा तेहरानलाई लक्षित गर्दै कडा धम्की दिएपछि इरानी वार्ताकार असन्तुष्ट बनेका थिए। त्यसपछि वार्ता केही समयका लागि अवरुद्ध भए पनि पूर्ण रूपमा समाप्त नभएको इरानी स्रोतहरूले बताएका छन्।

ट्रम्पले सम्झौता नभए अमेरिकाले पुनः बमबारी गर्न सक्ने र रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुजमा नियन्त्रण कायम गर्ने चेतावनीसमेत दिएका थिए। यस विषयमा प्रारम्भिक सहमति भइसकेको भए पनि पछिल्ला अभिव्यक्तिले तनाव पुनः बढाएको छ।

यसैबीच, लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी संघर्षले वार्तालाई थप जटिल बनाएको छ। इरानले इजरायली आक्रमण रोकिए मात्र वार्ता सकारात्मक हुने अडान दोहोर्याएको छ, जसले मध्यपूर्वको कूटनीतिक तनाव अझ चुलिएको छ।
































