
गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ‘गाउँफर्क अभियान’लाई प्रमुख प्राथमिकतामा राख्दै बसाइँसराइ रोक्ने लक्ष्यसहित आकर्षक नीति ल्याएको छ। गाउँ छोड्ने प्रवृत्ति बढ्दै गएपछि स्थायी रूपमा बसोबास गर्न आउने नागरिकलाई पूर्वाधार निर्माणका लागि ५० हजार रुपैयाँ नगद प्रोत्साहन दिने व्यवस्था गरिएको छ।

आइतबार सार्वजनिक नीति तथा कार्यक्रममा बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनु, विद्यालयमा विद्यार्थी संख्या घट्नु, उत्पादनमा गिरावट आउनु र श्रमिक अभाव बढ्नुजस्ता समस्याले गाउँको सामाजिक–आर्थिक संरचना कमजोर बनाएको उल्लेख गरिएको छ। यही अवस्थालाई नियन्त्रण गर्न ‘गाउँ फर्क’ वातावरण तयार पारिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष ईन्द्र कार्कीले भू–उपयोग क्षेत्रअनुसार व्यवस्थित बस्ती विकास, भवन निर्माण र सार्वजनिक पूर्वाधारलाई गुणस्तरीय बनाउने नीति अघि सारिएको जानकारी दिए। उनका अनुसार दीर्घकालीन विकासलाई लक्षित गरी योजनाबद्ध शहरीकरणको अवधारणा अपनाइनेछ।


शिक्षा क्षेत्रमा सूचना प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई प्राथमिकता दिइएको छ। पछिल्ला दुई वर्षमा एसईई नतिजामा जिल्ला प्रथम बन्न सफल भएको उपलब्धिलाई निरन्तरता दिन आधुनिक शिक्षण विधि, अवलोकन भ्रमण र सिकाइ आदान–प्रदानलाई जोड दिइनेछ।
गाउँपालिकाले हालसम्म १० शय्याको अस्पताल सञ्चालन, वडा कार्यालय भवन निर्माण, प्रशासकीय भवन निर्माणको अन्तिम चरण, ‘एक घर–एक धारा’ खानेपानी विस्तार, ८० हेक्टरभन्दा बढी सिँचाइ सुविधा, सडक कालोपत्रे तथा पदमार्ग निर्माणजस्ता उपलब्धि हासिल गरेको जनाएको छ।
उपाध्यक्ष ज्ञानु सेटीका अनुसार विपद् प्रभावितका लागि स्थापना गरिएको राहत कोषबाट हालसम्म ४५ जनालाई ७ लाखभन्दा बढी राहत वितरण गरिएको छ। आगामी वर्ष भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखी अधुरा तथा बहुवर्षीय योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।
































