
कञ्चनपुरमा जनप्रतिनिधिसँग विवाद, हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी सञ्चारकर्मी ऐश्वर्या कुँवरमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जारी गरेको विज्ञप्तिअनुसार कुँवरविरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको हो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रवीन्द्र देवकोटा र भीमदत्त नगरपालिकाकी कार्यपालिका सदस्य सीता देवी भण्डारीसँग कुँवरले वादविवाद गर्दै हातपात गरेको आरोप लागेको छ।


घटना महेन्द्रनगरस्थित होटल स्वीट ड्रिममा वडा कार्यालयको आयोजनामा ‘सुनौलो भविष्य बाल क्लब’मा आबद्ध बालबालिकाका लागि सञ्चालन भइरहेको तीन दिने नेतृत्व विकास तालिमका क्रममा भएको प्रहरीले जनाएको छ।
पत्रकार महासंघ कञ्चनपुरकी सदस्यसमेत रहेकी कुँवर र जनप्रतिनिधिबीच भएको विवाद तथा हातपातको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। प्रहरीले घटनाका सबै पक्षबारे प्रमाण संकलन गरी कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको जनाएको छ।
































