
कञ्चनपुरको बेदकोट नगरपालिकाले अत्यधिक गर्मीलाई मध्यनजर गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले सोमबार सूचना जारी गर्दै असार ९ गते मंगलबारदेखि असार १२ गते शुक्रबारसम्म सबै विद्यालय बन्द रहने जनाएको हो।

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्वारा हस्ताक्षरित सूचनामा उक्त बिदा गर्मी बिदाका रूपमा लिइने र लामो बिदाबाट कट्टी हुने व्यवस्था गरिएको उल्लेख छ। यो निर्णय बेदकोटा नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा लागू हुने बताइएको छ।

नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। पछिल्ला दिनमा बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने सम्भावनालाई रोक्न बिदा दिइएको हो।


































