
आज २०८३ असार ९ गते मंगलबार तथा अन्तर्राष्ट्रिय एकल महिला दिवस हो। हिन्दू धर्मअनुसार मंगलबार भगवान श्रीगणेशको प्रिय दिन मानिन्छ। यस दिन श्रद्धापूर्वक गणेश पूजा, व्रत र आराधना गर्दा सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

कुनै पनि शुभ कार्यको आरम्भअघि भगवान गणेशको पूजा गर्ने परम्परा छ। शास्त्रमा गणेश पूजाको १६ विधि उल्लेख गरिएको छ, जसमा आह्वान, अर्घ, स्नान, पुष्प, धूप, दीप, नैवेद्य, आरती लगायतका चरण समावेश छन्। पूजा गर्दा शुद्ध मन र एकाग्र भाव आवश्यक मानिन्छ।
धर्मग्रन्थअनुसार मंगलबार माछा, मासु तथा मदिरा सेवन नगर्न सुझाव दिइएको छ। यसले जीवनमा विभिन्न समस्या निम्त्याउन सक्ने धार्मिक मान्यता छ।


पद्मपुराणमा वर्णित कथाअनुसार माता पार्वतीले दिएको दिव्य लड्डु प्राप्त गर्न गणेशले सम्पूर्ण तीर्थ भ्रमणको सट्टा आफ्ना मातापिताको परिक्रमा गरेका थिए। यही कारण उनी बुद्धि, ज्ञान, भक्ति र आज्ञाकारिताका प्रतीक मानिन्छन्।
‘विघ्नेश्वर’ र ‘विनायक’ नामले समेत परिचित गणेशलाई विघ्नबाधा हटाउने देवताको रूपमा पूजा गरिन्छ। ‘ॐ गं गणपतये नमः’ लगायतका मन्त्र जप गर्दा गणेश भगवान् प्रसन्न भई सफलता र शुभफल प्रदान गर्ने विश्वास रहेको छ।































