
अमेरिका र इरानबीच युद्धविरामपछि भएको प्रारम्भिक सहमतिअनुसार इरानमाथि लगाइएका केही प्रतिबन्धहरू अस्थायी रूपमा स्थगित गरिएका छन्। यससँगै इरानलाई कम्तीमा दुई महिनासम्म अन्तर्राष्ट्रिय बजारमा डलरमा तेल बेच्ने बाटो खुला गरिएको छ। प्रतिबन्ध हटेसँगै इरानले अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूसँग खुलेर तेल व्यापार गर्न सक्नेछ।

यसअघि अमेरिका–इरान युद्धका क्रममा हर्मुज जलमार्ग वरपर अमेरिकी नौसेना तैनाथ गरी इरानी बन्दरगाहमा नाकाबन्दी लगाइएको थियो। नाकाबन्दीका कारण तेल निर्यात ठप्प हुँदा इरानका कच्चा तेल भण्डार भरिएका थिए।
युद्ध अन्त्यका लागि गरिएको प्रारम्भिक सम्झौतापछि ६० दिनको युद्धविराम लागू गरिएको छ। सो अवधिभित्र अन्तिम सम्झौता गर्न स्विट्जरल्यान्डमा दुवै देशबीच वार्ता भइरहेको छ। सहमतिअनुसार युद्धविराम अवधिभर इरानले तेल निर्यात गर्न पाउनेछ भने हर्मुज जलमार्गमा तेल तथा ग्यास बोकेका जहाजहरूको आवतजावत पनि बिना रोकावट हुनेछ।


अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरू पुनः इरान फर्कने सहमति पनि बनेको छ। यद्यपि संवेदनशील आणविक केन्द्रहरूमा उनीहरूको पहुँचबारे टुंगो लागिसकेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता उल्लंघन गरे पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। उनले आर्थिक प्रतिबन्ध फुकुवा र रोक्का सम्पत्ति प्रयोगबारे पनि संकेत गरेका छन्।
स्विट्जरल्यान्डमा कतार र पाकिस्तानको मध्यस्थतामा जारी वार्ता अझै निर्णायक चरणमा पुगेको छैन।
































