
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति गम्भीर असहमति जनाएको छ। पार्टीले संयुक्त सरकारको सहमति र साझा नीति–कार्यक्रमअनुसार बजेट नआएको भन्दै आवश्यक संशोधन गर्न माग गरेको छ।

प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट विनियोजन एकलौटी ढंगले गरिएको आरोप लगाउँदै संशोधन नगरे सरकारबाट बाहिरिने चेतावनी दिएको हो। बैठकले संसदीय दललाई आवश्यक निर्देशन दिने निर्णयसमेत गरेको छ।

प्रदेश उपसचिव भागरथी विष्टका अनुसार बजेट सहमति विपरीत बनेको भन्दै आपत्ति जनाइएको हो। बैठकले संघीय बजेटमा सुदूरपश्चिम र विपन्न तथा दुर्गम क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको भन्दै थप कार्यक्रमको माग पनि गरेको छ।

त्यसैगरी किसानलाई समयमै मल उपलब्ध गराउन, संवैधानिक आयोगप्रति भएको व्यवहार र सीमा विवादसम्बन्धी घटनामा कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिएको छ। बैठकले पार्टी गतिविधि समीक्षा गर्दै नेतृत्व र सहभागी सबैलाई धन्यवाद पनि ज्ञापन गरेको छ।
































