
अत्तरियाः चुरे गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक धना थापाले बालविवाह न्यूनीकरण र महिनावारी स्वच्छताका सवालमा चुरे गाउँपालिका संवेदनशील रहेको बताएकी छन्।

मंगलबार चुरे गाउँपालिका न्यायिक समितिको सहकार्यमा चुरे गाउँपालिका–४ स्थित समैजी आधारभूत विद्यालय, जगातीमा आयोजित बालविवाह न्यूनीकरण तथा महिनावारी स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले गाउँपालिकाले सामाजिक कुरीति अन्त्यका लागि योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिइन्।
उनले पालिकाका विभिन्न क्षेत्रमा अझै पनि बालविवाहको समस्या विद्यमान रहेको उल्लेख गर्दै बालविवाहका कारण धेरै विद्यार्थीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएको बताइन्। साथै महिनावारीसम्बन्धी परम्परागत सोच, विभेद र गलत अभ्यासका कारण बालिकाहरू विभिन्न समस्या भोग्न बाध्य भएको भन्दै यस्ता कुसंस्कार अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

उपाध्यक्ष थापाले न्यायिक समितिले बालविवाह नियन्त्रण, लैङ्गिक समानता प्रवर्द्धन तथा महिनावारी स्वच्छताबारे जनचेतना फैलाउन रणनीतिक र योजनाबद्ध ढङ्गले अभियान सञ्चालन गरिरहेको बताइन्। “समुदायस्तरमा सचेतना वृद्धि हुँदै जाँदा सकारात्मक परिवर्तन देखिन थालेको छ,” उनले भनिन्, “बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्य सुरक्षित बनाउन सबै पक्षको सहकार्य आवश्यक छ।”

कार्यक्रमका विशिष्ट अतिथि चुरे गाउँपालिका–३ का वडाध्यक्ष तथा न्यायिक समिति सदस्य खगेन्द्र खडायतले पालिकाले बालविवाह नियन्त्रण तथा कुसंस्कारका रूपमा रहेको छाउपडी प्रथाविरुद्ध निरन्तर अभियान सञ्चालन गरिरहेको बताए। उनले यस्ता सामाजिक विकृति हटाउन स्थानीय तह, विद्यालय, अभिभावक तथा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै अभियानलाई अझ प्रभावकारी बनाइने बताए।
कार्यक्रममा समैजी आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक योगेन्द्र देउवा, वडा नं. ४ का वडा सदस्य प्रेमप्रसाद आचार्यलगायत वक्ताहरूले उपाध्यक्ष थापाको नेतृत्वमा सञ्चालन भइरहेको सामाजिक सचेतना अभियानको प्रशंसा गरेका थिए। उनीहरूले बालविवाह तथा महिनावारीसम्बन्धी गलत धारणा हटाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गरे।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले बालविवाह र महिनावारीसम्बन्धी विभेद अन्त्यका लागि सामूहिक प्रतिबद्धता जनाउँदै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।































