
कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो भिरबाट खसालेको घटनामा पीडित पक्षलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ। वन कर्मचारी र टेम्पो धनी घनश्याम धामी तथा उनकी पत्नी धनादेवी धामीबीच सहमति भएपछि रकम दिने निर्णय भएको हो।

गत जेठ २९ गते भीमदत्त राजमार्गअन्तर्गत चुरे क्षेत्रमा वन कार्यालयका कर्मचारीले अतिक्रमण हटाउने क्रममा टेम्पो अनियन्त्रित भई भिरमा खसेको बताइएको थियो। तर, घटनाको भिडियो सार्वजनिक भएपछि कर्मचारीमाथि दुरुपयोगको आरोप लगाउँदै चौतर्फी आलोचना भएको थियो।

धामी दम्पतीले भने टेम्पो चालु अवस्थामा रहेको दाबी गर्दै १० लाख रुपैयाँ क्षतिपूर्ति र पुनर्निर्माणको माग गरेका थिए। विवादपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो।

समितिको समन्वयमा दुवै पक्षबीच मध्यमार्गी सहमति जुट्दै पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरिएको हो। प्रहरीले घटनामा संलग्न १० जना वन कर्मचारीलाई पक्राउसमेत गरेको थियो।
































