
कैलालीमा वर्षा नहुँदा धान रोपाइँ भएको खेतमै रोपो सुक्न थालेको छ। असारको समयमा पनि पर्याप्त पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेका छन् भने जमिन सेताम्मे देखिन थालेको छ। किसानले भूमिगत पानी र बोरिङको सहारामा रोपाइँ गरे पनि अत्यधिक गर्मी र सुक्खाका कारण रोपो जोगाउन कठिन भइरहेको छ।

भजनी, जुगेडा लगायत ग्रामीण क्षेत्रमा किसानले जेठ अन्त्यदेखि रोपाइँ सुरु गरे पनि सिँचाइ खर्च दोब्बर बढेको छ। डिजेल खर्चेर रोपाइँ गर्नुका साथै पुनः पानी हाल्नुपर्ने बाध्यताले लागत बढेको किसानले बताएका छन्। बोरिङमा पानी सुक्न थालेपछि कतिपयले रोपाइँ नै रोक्नुपरेको छ।
यसैबीच, मनसुन प्रवेश भए पनि कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ढिलो मनसुन र कम वर्षाका कारण कैलालीसहित सुदूरपश्चिममा खेती प्रभावित भएको छ।




साथै, किसानले रासायनिक मल अभावको पनि सामना गरिरहेका छन्। डिएपी र युरिया मल समयमै नपाउँदा रोपाइँ ढिलाइ भएको गुनासो छ। कृषि सामग्री कम्पनीले कोटा अनुसार वितरण भइरहेको बताए पनि ढिलाइ र आपूर्ति समस्याले किसान मारमा परेका छन्।
कैलालीमा मात्र धान रोपाइँका लागि ठूलो परिमाणमा मल आवश्यक पर्ने भए पनि आपूर्ति अपुग हुँदा कृषि उत्पादन प्रभावित हुने चिन्ता बढेको छ। किसानले सिँचाइ र मल दुवै समस्याले यस वर्षको धान उत्पादनमा ठूलो असर पर्ने आशंका व्यक्त गरेका छन्।



































