
कैलालीका फूल व्यवसायी तथा किसानहरूले भारतबाट भन्सार नाकामार्फत भित्रिने प्रतिबन्धित प्लास्टिकका फूलको आयातमा कडाइ गर्न माग गरेका छन्। बुधबार कैलाली भन्सार कार्यालयका प्रमुखलाई भेट्दै उनीहरूले सरकारले प्रतिबन्ध लगाए पनि प्लास्टिकका फूल लुकीछिपी बजारमा भित्रिरहेको भन्दै प्रभावकारी नियन्त्रणको माग गरेका हुन्।

पुष्प व्यवसायी संघ कैलालीका अध्यक्ष शङ्कर सिंह विष्टले सरकारले प्लास्टिकका फूलमा प्रतिबन्ध लगाएपछि व्यवसायीहरू प्राकृतिक फूल उत्पादन र व्यवसायमा केन्द्रित भएको बताए। तर पछिल्लो समय भारतीय प्लास्टिकका फूल बजारमा सहज रूपमा उपलब्ध हुन थालेपछि स्वदेशी पुष्प व्यवसाय प्रभावित भएको उनको भनाइ छ।

उनका अनुसार विशेषगरी बिहान र साँझको समयमा भन्सार नाकामार्फत प्लास्टिकका साथै प्राकृतिक फूलसमेत आयात हुने गरेको छ। यसले स्थानीय किसान र व्यवसायीलाई प्रत्यक्ष असर पुगेको भन्दै प्रतिबन्धित सामग्रीको आयात रोक्न भन्सार कार्यालयले कडा निगरानी, जाँच तथा नियन्त्रणका उपाय अवलम्बन गर्नुपर्ने माग गरिएको छ। व्यवसायीहरूले स्वदेशी उत्पादनको संरक्षणका लागि सम्बन्धित निकायलाई थप सक्रिय बन्न आग्रह गरेका छन्।

































