‘पढ्दै कमाउँदै’ अभियान : दुर्गालक्ष्मीका विद्यार्थीलाई कपाल काट्ने सीप, एक महिने निःशुल्क तालिम सुरु

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि एक महिने कपाल काट्ने तालिम सुरु गरेको छ। २५ जना विद्यार्थी सहभागी रहेको तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउँदै अध्ययनसँगै आम्दानीको अवसर सिर्जना गर्ने लक्ष्य राखेको विद्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले विद्यार्थीहरूले सीप सिकेर आफ्नै पढाइ खर्च जुटाउन तथा परिवारलाई आर्थिक सहयोग गर्न सक्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। तालिम अवधिभर विद्यार्थीहरूले निःशुल्क रूपमा कपाल काट्नेछन्।

nawajiwan
Attariya Hospital

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले तालिमको उद्घाटन गर्दै अत्तरिया क्षेत्रमा सुरक्षित र व्यवस्थित रूपमा कपाल काट्ने संस्कृतिको विकासमा यो कार्यक्रम उपयोगी हुने बताए। उनका अनुसार विद्यार्थीहरूले हातमा पन्जा र मुखमा मास्क प्रयोग गरी न्यूनतम सुरक्षा मापदण्ड पालना गर्दै सेवा दिनेछन्।

विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत भविष्यमा ब्यान्ड निर्माण, परम्परागत बाजागाजाको प्रशिक्षण, दुना–टपरी निर्माण तथा फूल उत्पादनजस्ता सीपमूलक कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएको छ।

तालिममा सहभागी विद्यार्थी रुपेश कुमार बस्यालले सीपमूलक तालिमले पढाइसँगै आम्दानीको बाटो खोल्ने भएकाले निकै उपयोगी भएको बताए। तालिम विद्यालयको सपिङ कम्प्लेक्समा रहेको फरमान सेलुनमा सञ्चालन भइरहेको छ।