उपप्रमुखको असहमतिबीच पाटन नगरपालिकाको ६९ करोड ५८ लाखको बजेट बहुमतबाट पारित

Image
Nisarga Hospital

बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६९ करोड ५८ लाख ६६ हजार ५ सय रुपैयाँ बराबरको बजेट बहुमतबाट पारित गरेको छ। बुधबार बसेको नगरसभाले उपप्रमुख कमलसिंह बोहराको असहमतिका बाबजुद बजेट स्वीकृत गरेको हो।

CP Hospital Dhangadhi

नगर प्रमुख गौरीसिंह रावलले सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष हरिश बिष्टमार्फत बजेट प्रस्तुत गराएका थिए। नगरसभामा उपस्थित सदस्यहरूले बजेटमा सहमति जनाउँदै पारित गरेको बिष्टले जानकारी दिए। बजेटमा अधुरा योजनालाई निरन्तरता दिने, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, प्रशासनिक सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कार्यक्रम समावेश गरिएको छ।

Attariya Hospital

यसैगरी वडा नम्बर ६ का अध्यक्ष राजेन्द्रसिंह बिष्टले पेश गरेको आर्थिक विधेयक पनि नगरसभाबाट पारित भएको छ। नगरसभामा उपप्रमुख बोहरा र प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याल अनुपस्थित रहे भने निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितकुमार पाण्डेय सहभागी भएका थिए।

nawajiwan

उपप्रमुख बोहराले भने बजेट निर्माण प्रक्रिया स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा योजना तथा बजेट तर्जुमा निर्देशिकाअनुसार विधिसम्मत र पारदर्शी ढंगले अघि नबढाइएको भन्दै असहमति जनाएका छन्। उनले प्रेस विज्ञप्तिमार्फत योजना तर्जुमा समितिलाई बेवास्ता गर्दै बजेट ल्याइएको आरोपसमेत लगाएका छन्।