
रमेश बहादुर सिंह / बझाङः बझाङमा “लागूऔषध चिनौँ, सामाजिक समाधानको बाटो रोजौँ” भन्ने मूल नारासहित लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत सत्यवादी माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराले लागूऔषधको बढ्दो प्रयोग, यसले व्यक्ति, परिवार र समाजमा पार्ने असर तथा लागूऔषध कारोबारसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए। उनले युवापुस्तालाई लागूऔषधको दुष्चक्रबाट जोगाउन परिवार, विद्यालय, समुदाय र राज्यको साझा प्रयास आवश्यक रहेको बताए।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले लागूऔषधमुक्त समाज निर्माणका लागि शिक्षा, सचेतना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। जिल्ला अस्पताल बझाङको ओसीएमसीमा कार्यरत मनोसामाजिक परामर्शदाता दीपा जोशीले लागूऔषध दुर्व्यसन, महिला हिंसा तथा बालबालिकाको मनोविज्ञान बुझ्ने र समस्या समाधानका उपायबारे प्रस्तुति दिएकी थिइन्।


कार्यक्रममा विद्यार्थीहरूले सन्देशमूलक प्रस्तुति र अन्तरक्रियामार्फत लागूऔषधविरुद्ध जनचेतना फैलाउने प्रयास गरेका थिए। आयोजकका अनुसार सप्ताहव्यापी अभियानले विशेषगरी युवामा लागूऔषधको जोखिमबारे जागरण फैलाउँदै स्वस्थ, सभ्य र जिम्मेवार समाज निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बझाङको आयोजनामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए)/पिसविन नेपाल, प्रगतिशील युवा समाज र दलित सहयोग समाजको सहयोग रहेको थियो। कार्यक्रम प्रमुख जिल्ला अधिकारी केसरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने विभिन्न सुरक्षा निकाय, शिक्षा क्षेत्र, पत्रकार महासंघ तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।































