
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाको गौरवका रूपमा चिनिने मालाखेती अस्पतालमा छिट्टै सर्पदंश उपचार सेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय , स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा गोदावरी नगरपालिकाको सहजीकरणमा सर्पदंश उपचार सेवासम्बन्धी जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूलाई लक्षित गरी अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न गरिएको हो।

अभिमुखीकरण कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको अध्यक्षता सञ्चालित कार्यक्रम उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत धर्म राज बिनाडी, स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थी, स्वाथ्य कार्यालय र आपुर्ती निर्देशनालयका प्रतिनिधि, मालाखेती अस्पतालमा अध्यक्ष डा. नर बहादुर मौनी, लगायत जनप्रतिनिधी, स्वास्थ्य स्वयम सेविका, पालिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य बारे जानकारी दिदै गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थीका अनुसार सर्पदंशका घटनालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै सर्पदंशबाट हुने मृत्यु दर घटाउनु, उपचार सेवाको पहुँच विस्तार गर्नु तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नु रहेको बताइएको छ। प्रदेश सरकार र गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा मालाखेती अस्पतालमा केही दिनभित्रै सर्पदंश उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइएका थिए ।
कार्यक्रममा आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक झनकराज ढुंगाना र जनस्वास्थ्य प्रशासक रमेश कुँवरले आवश्यक औषधि, उपकरण तथा व्यवस्थापनको प्रक्रिया अगाडि बढिरहेको र छिट्टै यस क्षेत्रका नागरिकले स्थानीय स्तरमै गुणस्तरीय सेवा पाउने बताए। स्वास्थ्य कार्यालय कैलालीकी जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले सर्पदंशको जोखिम, प्राथमिक उपचार, बिरामीलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउने उपाय तथा जनचेतनाका विषयमा प्रस्तुतीकरण दिएकी थिइन्।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले सर्पदंशका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न नगरपालिका गम्भीर र प्रतिबद्ध रहेको बताए। उनले मालाखेती अस्पतालमा आवश्यक जनशक्ति, औषधि, उपकरण तथा पूर्वाधारको व्यवस्था गरी छिट्टै गुणस्तरीय सर्पदंश उपचार सेवा सञ्चालन गरिने उल्लेख गरे। स्थानीय नागरिकले समयमै उपचार पाउने वातावरण सिर्जना गर्दै सर्पदंशबाट हुने मृत्यु दर घटाउन नगरपालिका सबै निकायसँग समन्वय गरेर अघि बढिरहेको उनको भनाइ थियो।

तेसै गरी नगर उप प्रमुख शारदा देवी रोकायाले पनि गोदावरी नगरपालिकाको वडा न. १०-११ र १२ सबै भन्दा बढी सर्प दंशले प्रभावित भएकोले यस क्षेत्रका सँगै छिमेकी पालिकाका जनतालाई पनि सेवा पुग्ने र अकालमै ज्यान जान बाट जोगिने बताएकी छिन ।
तेसै गरी मालाखेती अस्पतालमा अध्यक्ष तथा पद्मा अस्पतालमा संचालक डा. नर बहादुर मौनीका अनुसार सर्प दंशका समस्या बिकराल बन्दै गर्दा मालाखेती अस्पतालमा सेवा विस्तार हुनु यस ठाउँका जनताका लागि राहात पुग्ने बताएका छन। विस्तार गर्नु मात्र ठुलो कुरो नभएर सेवामा निरन्तरता दिनु अति आवश्येक रहेको बताएका छन ।

तेसै गरी गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज बिनाडीका अनुसार सेवा संचालनमा आई सकेपछि आवश्येक भ्याक्सिन तथा व्यावस्थापनमा कमी नहुने गरी दक्ष जनशक्ती बनाएर मात्र संचालन आवश्येक रहेको बताएका छन ।
सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि दक्ष जनशक्ति, सर्पविष प्रतिरोधी औषधि (एन्टिभेनम), आपतकालीन उपकरण, पर्याप्त पूर्वाधार, बजेट व्यवस्थापन, नियमित अनुगमन तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइने जनाइएको छ। सुदूरपश्चिममा विशेषगरी वैशाखदेखि भदौसम्म सर्पदंशका घटना बढी हुने भएकाले सेवा विस्तारलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।





































