
कञ्चनपुर: भारतको धारचुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध सफा (सिल्ट सफाइ) गर्नका लागि बाँधका ढोकाहरू खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सार्वजनिक सूचना जारी गर्दै महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको पत्र तथा भारतीय पक्ष (एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन) को पत्राचार अनुसार उक्त बाँध असार १२ गते (तदनुसार २६ जून २०२६) शुक्रबार बिहान ०६:०० बजेदेखि असार १३ गते (तदनुसार २७ जून २०२६) शनिबार अपरान्ह ०५:०० बजेसम्म खोलिनेछ।
लगभग ३५ घण्टासम्म चल्ने उक्त सफाइ कार्यका कारण महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको छ। सूचनामा भनिएको छ, “बाँध खोल्ने समय र त्यसपछि समेत महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूले आवश्यक पूर्व सतर्कता अपनाउनु हुन जानकारी गराइन्छ।”


प्रशासनले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र माछा मार्ने वा काठ संकलन गर्ने जस्ता गतिविधि नगर्न समेत स्थानीयलाई सजग गराएको छ।

































