
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १६४ पुगेको छ भने ९ सय ७१ जना घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गरेकी हुन्।

बुधबार बेलुकी ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा विनाशकारी मानिएको यो भूकम्पको धक्का भेनेजुएलाका अधिकांश भागसँगै छिमेकी देशहरूमा समेत महसुस गरिएको थियो।

भूकम्पका कारण धेरै घर तथा बहुमञ्जिले भवन भत्किएका छन्। भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले जनाएका छन्। सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यमा उद्धारकर्मीहरूले तीन बालबालिकालाई जीवितै उद्धार गर्न सफल भएका छन्।

कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्दै प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत तथा उद्धार अभियान सञ्चालन भइरहेको बताएकी छन्। सरकारले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने, उपचार सेवा उपलब्ध गराउने तथा आवश्यक राहत सामग्री वितरण गर्ने कार्यलाई प्राथमिकता दिएको जनाएको छ।
































