कर्णालीको काखमा बन्दै नयाँ सपना : जालपादेवी केबलकारले सुदूरपश्चिमको पर्यटनमा नयाँ युग सुरु गर्ने अपेक्षा

Image
Nisarga Hospital

कर्णाली नदीमाथि एक खम्बामा अडिएको चिसापानी पुल अहिले पनि सुदूरपश्चिमको प्रमुख आकर्षण हो। तर अब यही क्षेत्र केवल प्राकृतिक सौन्दर्यको परिचयमा सीमित रहने छैन। कैलालीको चिसापानीदेखि मोहन्याल गाउँपालिकाको राजकाँडासम्म निर्माणाधीन जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमलाई पर्यटन, रोजगारी र आर्थिक विकासको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा बढाएको छ।

CP Hospital Dhangadhi

आइएमई समूहको मुख्य लगानीमा करिब ६ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको यस परियोजनाअन्तर्गत ३.१ किलोमिटर लामो केबलकार, पाँचतारे होटल, रेस्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग, ब्यान्क्वेट हल तथा अन्य आधुनिक पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्। परियोजनाको निर्माण तीव्र गतिमा अघि बढेको छ भने आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार पोल, टप र बटम स्टेसन निर्माण अन्तिम चरणमा पुगेका छन्। त्यसपछि तार तान्ने र गोण्डोला जडानको काम सुरु हुनेछ। सञ्चालनमा आएपछि राजकाँडा सुदूरपश्चिमकै आकर्षक ‘हिल स्टेसन’का रूपमा विकास हुने विश्वास गरिएको छ।

nawajiwan
Attariya Hospital

व्यवसायी तथा पर्यटन क्षेत्रका जानकारहरूले यो परियोजनाले होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन्। हाल दैनिक सयौँ पर्यटक पुल अवलोकनका लागि आउने गरे पनि पूर्वाधार अभावका कारण उनीहरू छोटो समयमै फर्किने गरेका छन्। नयाँ संरचना सञ्चालनमा आएपछि पर्यटकको बसाइँ लम्बिने, स्थानीय उत्पादनले बजार पाउने र हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

स्थानीय समुदायले पनि वर्षौँदेखिको सपना साकार हुन लागेको भन्दै उत्साह व्यक्त गरेका छन्। जालपादेवी केबलकारलाई केवल पर्यटन आयोजना मात्र नभई सुदूरपश्चिमको समृद्धिको नयाँ आधार र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण अभियानका रूपमा हेरिएको छ।