धनगढीमा १० वर्षीय तनुजको हत्या : जंगलमा शव फेला, सुनको मुद्राका लागि हत्या भएको आशंका

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी तीन दिनदेखि बेपत्ता भएपछि शुक्रबार हत्या गरिएको अवस्थामा फेला परेका छन्। निमराज र राधा चौधरीका एक्ला छोरा तनुजको शव धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाको सीमास्थित कालिका सामुदायिक वनभित्र झाडीमा लुकाइएको अवस्थामा भेटिएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खोजतलासका क्रममा स्थानीय र प्रहरी टोलीले शव फेला पारेका हुन्। घटनास्थल नजिकै तनुजले चढ्दै आएको साइकल र चप्पल भेटिएको छ भने वरपर रगतले लतपतिएका ढुंगा र करिब १०–१२ स्थानमा रगतका दाग फेला परेका छन्। शव आधा सडेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

तनुज उर्मा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिए। असार १० गते रोपाइँ गरेर फर्किने क्रममा गाउँका केही किशोरसँग गङ्गटा छोप्न गएका उनी त्यसपछि साइकल चढेर घर फर्किने भन्दै छुट्टिएका थिए। साँझसम्म घर नआएपछि परिवारले खोजी सुरु गरेको थियो। रातभर गाउँ र जंगलमा खोज्दा पनि नभेटिएपछि प्रहरीमा निवेदन दिइएको थियो।

nawajiwan
Attariya Hospital

स्थानीयले दुर्गन्ध आएपछि झाडीभित्र शव देखेपछि घटना बाहिर आएको हो। मृतककी मामली बज्यै अनिता चौधरीका अनुसार तनुजको कानमा लगाएको सुनको मुद्री हराएको छ। सोही मुद्राका लागि हत्या भएको हुनसक्ने परिवारको आशंका छ। प्रहरीले पनि शवको कानमा मुद्रा फेला नपरेको पुष्टि गरेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट हत्या भएको निष्कर्ष निकालेको छ। घटनाबारे अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको सहप्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिएका छन्।