
अमेरिकाले इरानी तटीय क्षेत्रमा गरेको हवाई आक्रमणपछि अमेरिका–इरानबीचको तनाव फेरि बढेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी सैन्य ठेगानालाई लक्षित गरी जवाफी आक्रमण गरेको दाबी गरेको छ।

इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविरामप्रति प्रतिबद्ध नरहेको आरोप लगाउँदै वार्ता चलिरहेकै बेला गरिएको आक्रमणले अमेरिकी नेतृत्वको वास्तविक मनसाय उजागर भएको बताएका छन्। उनले अब दोषारोपणको राजनीति स्वीकार्य नहुने चेतावनी दिएका छन्।
यता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्धविराम कार्यान्वयनबारे कुनै असहमति भए हिंसाको सट्टा संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने बताए। उनले इरानले सम्झौताप्रति सम्मान देखाए पनि आक्रमण भए त्यसको जवाफ दिन अमेरिका पछि नहट्ने स्पष्ट पारे।


यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल–लेबनानबीच भएको त्रिपक्षीय फ्रेमवर्क सम्झौताले क्षेत्रीय शान्तिका लागि सकारात्मक आधार तयार गरेको बताएका छन्।
उता खातम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टरका सैन्य प्रवक्ता इब्राहिम अल–फिकारले अमेरिकी आक्रमणको इरानले कडा जवाफ दिने चेतावनी दिएका छन्। पछिल्ला घटनाक्रमले मध्यपूर्वमा तनाव थप बढ्ने संकेत देखिएको छ।
































