
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नवनिर्मित भवनको शुभारम्भसँगै लघु रुद्राभिषेक यज्ञ आयोजना गरेको छ।

संस्थाका महासचिव धर्मसिंह कुँवरका अनुसार नवनिर्मित भवनको वास्तु पूजा, संस्थाको उत्तरोत्तर प्रगति, उपभोक्ताको सुख, शान्ति, समृद्धि तथा सर्वकल्याणको कामनासहित धार्मिक अनुष्ठान सञ्चालन गरिएको हो।

शनिबार बिहान ९ बजेदेखि सुरु भएको पूजा तथा लघु रुद्राभिषेक यज्ञ राति ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, उपभोक्ता, स्थानीय बासिन्दा तथा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको छ।

संस्थाले धार्मिक कार्यक्रममार्फत नयाँ भवनको शुभारम्भ गर्नुका साथै आगामी दिनमा उपभोक्तालाई थप प्रभावकारी र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यज्ञले संस्थाको प्रगति र समुदायमा सुख, शान्ति तथा सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।
































