
अमेरिका र इरानबीच होर्मुज स्ट्रेट क्षेत्रमा शुक्रबार राति पुनः आक्रमण–प्रत्याक्रमण भएपछि दुई देशबीचको युद्धविराम थप कमजोर बनेको छ। द्वन्द्व सुरु भएको १२० दिन पुगेका बेला अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका मिसाइल, ड्रोन भण्डारण स्थल र समुद्री रडार प्रणालीमाथि हवाई आक्रमण गरेको जनाएको छ। यो कारबाही एक दिनअघि मालवाहक जहाज ‘एभर लभली’ माथि भएको ड्रोन हमलाको प्रत्युत्तर भएको अमेरिकी दाबी छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको दाबी गर्दै थप आक्रमण भए अझ कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।
बिहीबार सिङ्गापुरको झन्डा बोकेको ‘एभर लभली’ जहाज होर्मुज स्ट्रेट नजिक क्षेप्यास्त्र प्रहारबाट क्षतिग्रस्त भए पनि चालकदल सुरक्षित रहेको र ठूलो भौतिक वा वातावरणीय क्षति नभएको जनाइएको छ। घटनापछि अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले उद्धार योजना स्थगित गरेको छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई युद्धविरामको ‘मूर्खतापूर्ण उल्लङ्घन’ भन्दै इरानले चार आत्मघाती ड्रोन प्रहार गरेको आरोप लगाए। यद्यपि अमेरिकाले थप सैन्य कदमबारे स्पष्ट प्रतिक्रिया दिएको छैन।
दुवै देशबीचको विवादको केन्द्र होर्मुज स्ट्रेट हुँदै हुने अन्तर्राष्ट्रिय जहाज आवतजावतको व्यवस्थापन र सम्भावित शुल्क प्रणाली बनेको छ। विश्लेषकहरूका अनुसार तत्काल पूर्ण युद्धको सम्भावना कम भए पनि आगामी केही सातासम्म सीमित सैन्य तनाव र कूटनीतिक रस्साकस्सी जारी रहने सम्भावना उच्च रहेको छ।
































