
कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको तीनदिने गणना सुरु गरिएको छ। नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा भइरहेको गणनामा आठ सदस्यीय टोली सहभागी रहेको छ। टोलीलाई तीन उपसमूहमा विभाजन गरी तीनवटा ब्लकमा एकसाथ गणना सुरु गरिएको परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिए।

घोडाघोडी क्षेत्रमा हरेक वर्ष जाडो र गर्मीयाममा हरिहाँसको गणना गरिन्छ। गर्मीयाममा प्रजननका लागि हरिहाँस भजनी नगरपालिकाको लौकाहा–भौकाहा, घोरताल तथा सोनियाँ–रुपियाँलगायत अन्य सिमसार क्षेत्रमा फैलिने भएकाले जाडोयामको तुलनामा यसको सङ्ख्या कम देखिने गरेको छ।

तथ्याङ्कअनुसार गर्मीयाममा सन् २०२३ मा २१२, सन् २०२४ मा २२५ र सन् २०२५ मा १६४ हरिहाँस अभिलेख भएका थिए। जाडोयाममा भने सन् २०२६ मा हरिहाँसको सङ्ख्या ४२९ पुगेको छ। यस वर्षको गणनापछि हरिहाँसको वास्तविक अवस्था, वितरण र सङ्ख्याबारे विस्तृत प्रतिवेदन सार्वजनिक गरिने संरक्षण सङ्घले जनाएको छ। हरिहाँससँगै अन्य जलपन्छीको पनि गणना भइरहेको छ।

सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। चराको महत्त्वपूर्ण बासस्थानका रूपमा रहेको यस क्षेत्रलाई २०७८ मा नेपालकै पहिलो चरा अभयारण्य घोषणा गरिएको थियो। यहाँका प्रमुख सूचक प्रजातिमा हरिहाँस, मगर गोही र जङ्गली धान रहेका छन्।































