
इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी)ले आइतबार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रहरूलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। आईआरजीसीका अनुसार यो कारबाही इरानका पाँच तटीय चौकीमा हालै भएको अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको हो।

आईआरजीसीले कुवेतस्थित अली अल सलेम वायुसेना आधार तथा बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडासँग सम्बन्धित आठ सैन्य पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ। साथै, अबदेखि होर्मुज जलडमरूमध्यबाट अनधिकृत रूपमा आवतजावत गर्ने जहाजमाथि कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
यता, अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले होर्मुज जलडमरूमध्य नजिक व्यावसायिक ट्याङ्करमाथि भएको इरानी ड्रोन आक्रमणको जवाफस्वरूप इरानका सैन्य निगरानी संरचना, सञ्चार प्रणाली, वायु प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारण स्थल र अन्य रणनीतिक लक्ष्यमा आक्रमण गरिएको जनाएको छ।


यस घटनापछि कुवेतले आफ्नो भूमिलाई लक्षित गरिएको आक्रमणको कडा निन्दा गर्दै यसलाई सार्वभौमसत्तामाथिको उल्लङ्घन भनेको छ। बहराइनले पनि एक आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेको भए पनि मानवीय क्षति नभएको जनाएको छ।
गत जुन १८ मा इरान र अमेरिकाबीच क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भए पनि पछिल्ला आक्रमण–प्रत्याक्रमणले युद्धविराम कमजोर बन्दै गएको संकेत दिएको छ। दुवै पक्षबीच अन्तिम शान्ति सम्झौताका लागि वार्ता जारी रहे पनि पश्चिम एसियामा सुरक्षा अवस्था फेरि तनावपूर्ण बनेको छ।































