
कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ जीप र स्कुटर एकापसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार सुपप्र ०१–०११ प ३१५५ नम्बरको स्कुटर र से १ च १८६७ नम्बरको जीप आपसमा ठोक्किएका हुन्। दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ निवासी ३८ वर्षीय जनक रिमाल र पछाडि सवार उनकी श्रीमती धना रिमाल गम्भीर घाइते भएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुवै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

दुर्घटनापछि जीपलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि चालक फरार रहेका छन्। फरार चालकको खोजी तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































