फिसिङ लिंकको फन्दामा बैतडी: मोबाइल बैंकिङ ह्याकबाट लाखौँ रुपैयाँ ठगी, प्रहरीले दियो सतर्कता अपिल

Image
Nisarga Hospital

बैतडीमा मोबाइल बैंकिङ र सामाजिक सञ्जालमार्फत हुने डिजिटल ठगीका घटना तीव्र रूपमा बढिरहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जेठ महिनामा मात्रै मोबाइल बैंकिङ ह्याक गरी आठ लाख रुपैयाँभन्दा बढी ठगी भएको भन्दै ११ वटा उजुरी दर्ता भएका छन्।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार ठगहरूले बैंक खाता जोखिममा रहेको, केवाईसी अद्यावधिक गर्नुपर्ने, पासवर्ड परिवर्तन गर्नुपर्ने वा अनलाइन खरिदका नाममा फेसबुक, ह्वाट्सएप र एसएमएसमार्फत फिसिङ लिंक पठाउने गरेका छन्। प्रयोगकर्ताले त्यस्ता लिंकमा क्लिक गरी पासवर्ड, ओटीपी वा अन्य गोप्य विवरण प्रविष्ट गरेपछि खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण हुने गरेको छ।

Attariya Hospital

पुर्चौडी नगरपालिका–५ की कमला बोहरा यस्तै ठगीको सिकार बनेकी छन्। फेसबुक म्यासेन्जरमार्फत आएको सन्देशअनुसार पासवर्ड परिवर्तन गरेलगत्तै उनको खाताबाट तीन लाख रुपैयाँ र ‘फोन लोन’मार्फत थप ५० हजार रुपैयाँ गरी साढे तीन लाख रुपैयाँ झिकिएको थियो। यस्तै, पाटन नगरपालिका–८ का सुरेश विष्टको खाताबाट पनि तीन लाख रुपैयाँ स्थानान्तरण भएको थियो। उनले समयमै बैंकलाई जानकारी गराएकाले थप क्षति हुनबाट जोगिएको बताए।

nawajiwan

प्रहरीका अनुसार बेटिङ एप, बैंक सुरक्षा जाँच, केवाईसी नवीकरण वा मोबाइल बैंकिङ अपडेटका नाममा सक्रिय गिरोहले शिक्षित तथा विभिन्न पेशामा आबद्ध व्यक्तिलाई समेत निशाना बनाइरहेको छ। प्रहरीले बैंक तथा वित्तीय संस्थाले सामाजिक सञ्जालमार्फत ओटीपी, पासवर्ड वा गोप्य विवरण कहिल्यै नमाग्ने भएकाले अपरिचित लिंक नखोल्न, व्यक्तिगत विवरण साझा नगर्न र शंकास्पद सन्देश प्राप्त भए तत्काल बैंक तथा प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।