
कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घले नयाँ सदस्यता लिने तथा पुरानो सदस्यता नवीकरण गर्ने आज अन्तिम दिन रहेको जनाएको छ। आगामी असार २७ र २८ गते हुने साधारण सभा तथा नयाँ नेतृत्व चयनलाई लक्षित गर्दै आज साँझ ५ बजेसम्म सदस्यता सम्बन्धी सबै प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको हो।

सङ्घका अध्यक्ष कल्याण सिंह बोहराका अनुसार इच्छुक व्यवसायीले आज साँझ ५ बजेसम्म सङ्घको कार्यालयमा स्वयं उपस्थित भएर नयाँ सदस्यता लिन वा सदस्यता नवीकरण गर्न सक्नेछन्। उनले यसपछि साधारण सभासम्बन्धी सम्पूर्ण जिम्मेवारी निर्वाचन समितिलाई हस्तान्तरण गरिने जानकारी दिए।

केही दिनअघि सम्पन्न व्यवसायीहरूको आम भेलाले असार २७ गते साधारण सभा र २८ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अधिवक्ता देवराज भट्टको संयोजकत्वमा डा. नर बहादुर मौनी र गोविन्द रोस्यारा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। सङ्घले सबै सदस्य व्यवसायीलाई समयमै सदस्यता नवीकरण गरी निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

































