रोपाइँसँगै गुञ्जियो डेउडा: धनगढीमा धान दिवसको सांस्कृतिक उत्सव

Image
Nisarga Hospital

राष्ट्रिय धान दिवसको अवसरमा डेउडा प्रतिष्ठानले हरेक वर्षझैँ आयोजना गर्दै आएको ‘रोपाइँ काव्य गोष्ठी’ यस वर्ष पनि धनगढीमा उत्साहपूर्वक सम्पन्न गरेको छ। लोक संस्कृतिको संरक्षण, संवर्द्धन तथा डेउडालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित प्रतिष्ठानले साहित्यकार, कलाकार, संस्कृतिप्रेमी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम आयोजना गरेको हो।

CP Hospital Dhangadhi

‘मानो रोपेर मुरी फलाउने’ असार १५ को अवसर पारेर सहभागीहरूले सामूहिक रूपमा धान रोप्दै श्रमको सम्मान गरेका थिए। हिलोमै उत्रिएर डेउडा, चाँचरी र मौलिक लोकगीत गाइँदा कार्यक्रम सांस्कृतिक उत्सवमा परिणत भएको थियो। दही–चिउरा खाने परम्परासँगै मौलिक कविता वाचनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

Attariya Hospital

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी, कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोकबहादुर विष्ट तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

nawajiwan

प्रतिष्ठानका अध्यक्ष सुरतबहादुर रावत ‘डोटेली कान्छा’ले धान दिवसलाई संस्थाको वार्षिक सांस्कृतिक कार्यक्रमका रूपमा निरन्तर मनाउँदै आएको बताए। कार्यक्रमको सञ्चालन उपमहासचिव प्रेम बिबश चन्दले गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले परम्परागत संस्कृति संरक्षणसँगै नयाँ पुस्तामा लोककला र कृषि संस्कृतिप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरेका छन्।