
कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवर पाँच हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएकी छन्। भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी कुँवरलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको आदेशअनुसार कुँवरलाई पाँच हजार रुपैयाँ धरौटीमा छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए। आदेशपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई रिहा गरेको हो। प्रहरीका अनुसार उनी आठ दिन हिरासतमा रहेकी थिइन्, जसमा पहिलो पटक पाँच र दोस्रो पटक तीन दिन म्याद थप गरी अनुसन्धान गरिएको थियो।

घटना महेन्द्रनगरस्थित एक होटलमा आयोजित सार्वजनिक कार्यक्रममा भएको थियो। रिपोर्टिङका क्रममा भएको विवादपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनापछि प्रहरीले उनलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो।

यता कुँवरले भने सामाजिक सञ्जालमार्फत वडाध्यक्षबाट आफूमाथि दुर्व्यवहार भएको दाबी गरेकी छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
































