
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले कैलाली, कञ्चनपुरसहित ११ जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्तीजस्ता प्रमुख नदीहरूको जलसतह हाल सतर्कता तहभन्दा तल रहेकाले तत्काल ठूलो जोखिम छैन। तर, निरन्तर वर्षाका कारण साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको जनाएको छ।

आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा बहने साना नदीहरूमा बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले आगामी तीन दिनसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न साना नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने जनाएको छ। नदी किनारका बस्ती, सडक तथा पुल आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासनका सूचना पालना गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ।
































