
मुगुको पर्यटकीय क्षेत्र रारा ताल नजिकैको मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ। लामो समयदेखि अवरुद्ध रहेको दूरसञ्चार टावर पुनः सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, पर्यटक तथा विभिन्न सरकारी निकायलाई सहज इन्टरनेट सेवा उपलब्ध भएको हो।

छायाँनाथ रारा नगरपालिका–९ अन्तर्गत पर्ने मुर्माटप क्षेत्रमा असार १५ गतेदेखि फोरजी सेवा सुरु गरिएको नेपाल टेलिकम मुगुका निमित्त प्रमुख बिमलकुमार बुढाले जानकारी दिए। उनका अनुसार थार्प टावरबाट रेडियो लिंक जडान गरेर सेवा विस्तार गरिएको हो।

फोरजी सेवा सञ्चालनमा आएपछि मुर्मा गाउँ, रारा आसपासका बस्ती, होटल व्यवसायी, निकुञ्ज कार्यालय, सुरक्षाकर्मी तथा स्वदेशी–विदेशी पर्यटकले उच्चगतिको इन्टरनेट सेवाको लाभ लिन थालेका छन्। लामो समयपछि इन्टरनेट सेवा पुनः सञ्चालन हुँदा स्थानीयले खुसी व्यक्त गरेका छन्।

यद्यपि, टावरमा पर्याप्त पावर ब्याकअपको अभाव सेवा दिगोपनका लागि चुनौती बनेको छ। पुराना ब्याट्रीले पर्याप्त क्षमता नदिएकाले नयाँ ब्याट्री जडान गर्ने प्रक्रिया अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ। यसबाट सेवा अझ भरपर्दो र नियमित हुने अपेक्षा गरिएको छ।
































