बैतडीमा सडक निर्माण विवाद चर्कियो: वडाध्यक्षविरुद्ध वडा सदस्यको आमरण अनसन

Image
Nisarga Hospital

बैतडीको मेलौली नगरपालिका–९ मा सडक निर्माणको विषयलाई लिएर विवाद चर्किएको छ। निर्माणाधीन सडकमा अवरोध गरिएको आरोप लगाउँदै वडा सदस्य जनकराज भट्टले वडाध्यक्ष लोकराज भट्टविरुद्ध आमरण अनसन सुरु गरेका छन्। अनसनमा पूर्व वडा सदस्य भीमदत्त भट्ट पनि सहभागी छन्।

CP Hospital Dhangadhi

अनसनरत पक्षका अनुसार सडक डिभिजन कार्यालय पाटनले निर्माण गरिरहेको तिनजोर्ना–हरडाखान हुँदै वडा कार्यालय र विशालपुर स्वास्थ्य चौकी जोड्ने सडकमा अवरोध भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको हो। उनीहरू मेलौली नगरपालिकाको मूलढोकानजिक ब्यानर राखेर अनसनमा बसेका छन्।

वडा सदस्य भट्टले नगरपालिकालाई लिखित जानकारी दिँदै सडक निर्माणमा भइरहेको अवरोध नहट्दासम्म अनसन जारी रहने बताएका छन्। उनले आफूहरू पानीसमेत नपिई अनसनमा बसेको दाबी गर्दै तीन दिनभित्र निर्माण कार्य पुनः सुरु नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

nawajiwan
Attariya Hospital

यता वडाध्यक्ष लोकराज भट्टले भने सडक चौडा गर्दा पहिरोको जोखिम बढ्ने र बस्ती प्रभावित हुन सक्ने भएकाले स्थानीयवासी तथा सामुदायिक वन उपभोक्ता समितिले विरोध गरेको बताएका छन्। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिना निर्माण गर्न नदिने निर्णय समितिको रहेको उनको भनाइ छ।

करिब तीन करोड रुपैयाँ लागतको उक्त सडक आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ। सबै पक्षबीच समन्वय गरी विवाद समाधान गर्दै निर्माण कार्य अघि बढाउन स्थानीयवासीले माग गरेका छन्।