
कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) र म्यामोग्राफी सेवा पूर्ण रूपमा बन्द भएको छ। अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि अस्पताल पुग्ने बिरामीहरू निजी स्वास्थ्य संस्थामा जान बाध्य बनेका छन्।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार दुई महिनाअघि रेडियोलोजिस्ट डा. होम पन्तको कोशी प्रदेशमा सरुवा फिर्ता भएसँगै यी सेवाहरू प्रभावित भएका हुन्। यसअघि अस्पतालमा दैनिक करिब २० जनासम्मले भिडियो एक्सरे सेवा लिने गरेका थिए। हाल भने रेडियोलोजिस्टको अभावका कारण नियमित सेवा ठप्प भएको छ।
गर्भवती महिलाको आवश्यक जाँच भने स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) मार्फत सीमित रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ। तर स्तन क्यान्सर पहिचानका लागि अत्यन्त महत्वपूर्ण मानिने म्यामोग्राफी सेवा भने पूर्ण रूपमा बन्द छ, किनकि यसको परीक्षण र रिपोर्टिङ रेडियोलोजिस्टबाटै हुनुपर्ने व्यवस्था छ।


गेटा अस्पतालमा म्यामोग्राफी सेवा सुदूरपश्चिममै पहिलोपटक सञ्चालनमा ल्याइएको थियो। तर अहिले विशेषज्ञ चिकित्सक अभावकै कारण यो सेवा रोकिँदा महिला स्वास्थ्य सेवामा प्रत्यक्ष असर परेको छ।
६ सय शय्याको आधुनिक भौतिक पूर्वाधार निर्माण भइसकेको गेटा अस्पतालमा हाल ५० शय्या मात्रै सञ्चालनमा छन्। सेवा विस्तार र विशेषज्ञ जनशक्ति व्यवस्थापनका लागि स्थानीयवासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। यद्यपि अस्पतालमा निर्माण भइसकेका आईसीयू र एनआईसीयूजस्ता अत्यावश्यक सेवासमेत अझै सञ्चालनमा आउन सकेका छैनन्।
स्थानीयवासीले पूर्वाधार निर्माणसँगै आवश्यक जनशक्ति व्यवस्थापन गरी अस्पतालका सबै सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। विशेषज्ञ चिकित्सकको अभावले गेटा अस्पतालको सेवा विस्तारको लक्ष्य नै चुनौतीमा परेको देखिएको छ।
































