
कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना आधारभूत विद्यालयबाट बेपत्ता भएकी ६ वर्षीया मनिषा बिक मृत अवस्थामा फेला परेकी छन्। बुधबार बिहान करिब १०:४५ बजे स्थानीय रोरा खोलाको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार मनिषा लम्कीचुहा नगरपालिका–४ अम्मरपुर निवासी विकास कामीकी छोरी हुन्। उनी जनचेतना माध्यमिक विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन्। मंगलबार बिहान करिब ७ बजे अभिभावकले उनलाई विद्यालयमा छाडेका थिए।
विद्यालयबाट हराएको र घर तथा आफन्तको सम्पर्कमा पनि नआएपछि इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जयबहादुर चन्दको नेतृत्वमा खोजी अभियान सुरु गरिएको थियो। पछि प्रहरी निरीक्षक कबिराज रोकायाको नेतृत्वमा थप टोली पनि परिचालन गरिएको थियो।


प्रारम्भिक अनुसन्धानअनुसार मंगलबार परेको वर्षाका कारण स्थानीय खोला तथा नदीमा पानीको बहाव बढेको थियो। विद्यालयमा विद्यार्थी संख्या कम भएकाले करिब १० बजे बिदा गरिएको थियो। त्यसपछि मनिषा एक्लै घर फर्कने क्रममा रोरा खोला तर्ने प्रयास गर्दा बाढीको बहावमा बगेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































