कैलारीमा नमुना सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, ८० प्रतिशत कार्यसम्पादन भएको पालिका अध्यक्षको दावी

Image
Nisarga Hospital

धनगढीः कैलारी गाउँपालिकामा नमुना सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । कैलारी गाउँपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । आर्थिक वर्ष २०८२÷०८३ मा पालिकाबाट प्रवाह भएका सेवा तथा विकास निर्माणका गतिविधिहरु, सुशासन कायम गर्न र कर्मचारी र जनप्रतिनिधिलाई उत्तरदायी बनाउने उद्देश्यले नमुना सार्वजनिक सुनुवाई गरिएको हो ।

CP Hospital Dhangadhi

कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्र्रशासकीय अधिकृत, दलबहादुर धामीले कार्यक्रमका सहभागीले उठाएका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा वडा नम्बर ११ देखि ९ सम्मका वडाअध्यक्षहरु, कार्यालयका विषयगत शाखाका प्र्रमुखहरु, कार्यपालिका सदस्य, राजनीतिक दल, नागरिक समाज, शिक्षक, वुद्धिजिवी, सुरक्षाकर्मी, सर्वसाधारणलगायत एक सय १८ जनाको सक्रिय सहभागिता रहेको थियो ।

अधिकांश सहभागीहरुले कार्यालयको सुशासन, विकासका गतिविधिहरु न्यायीक प्रक्रिया, भौतिक विकासका सवालमा प्रश्न उठान गरेका थिए ।
प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले निर्वाचनमा गरेका वाचा अनुसारका करिब ८० प्रतिशत काम गरिसकेको बताउँदै बाँकी २० प्रतिशत काम आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको जनाए । उनले संघ र प्रदेश सरकारसँग समन्वय गरी सडक निर्माण, शिक्षा, कृषि, सिँचाइ र नदी कटान नियन्त्रण लगायतका योजनामा समन्वय भइरहेको बताए ।

nawajiwan

Attariya Hospital

यस्तै कैलारी गाउँपालिकाका नेकपा एमालेका नेता गोरबहादुर बिकले अन्य विकास भए पनि वडा नम्बर ६ मा बाटो, पुल, हसुलियाहुँदै बढैपुर जाने बाटो निर्माणमा जोड दिन गरेको प्रश्नको उत्तर दिँदै पालिका अध्यक्ष चौधरीले स्थानीय बजेटबाट सम्भव नभएका कारण संघ र प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । विभिन्न प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष चौधरी स्थानीय इच्छा आकांक्षाहरु बढी भएको तर बजेट कम भएका कारण ठूला योजनाहरु कार्यान्वयन गर्न नसकिएको बताए । उनले किसानलाई लक्षित काम भने पालिकामा धेरै भएको उल्लेख गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक भगवती कुमारी चौधरीले समस्यामा परेर पालिकामा न्याय माग्न आएका सबैले न्याय पाउने गरेको बताइन् । योजना अनुगमन र सुशासनको समेत आफ्नो भूमिका भएको बताउँदै उपाध्यक्ष चौधरीले भूमिका अनुसार आफू गाउँपालिकामा क्रियाशील रहेको उनको भनाइ छ । विकास निर्माणका काममा ढिलासुस्ती, गुणस्तरहीन कार्यलाई आफूले निरुत्साहित गर्दै आएको समेत उपाध्यक्ष चौधरीले बताइन् ।

कार्यक्रमका सहभागी झनक खनालले सार्वजनिक सुनुवाईमा सूचना प्रवाह नभएको गुनासो पोखिरहँदा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले पालिकाको आधिकारिक बेभसाइट र सूचनापाटी, वडाअध्यक्ष, जनप्रतिनिधिमार्फत सूचना प्रवाह गरेको बताए । उनले पालिकाले गरेका प्रगति विवरण समेत सार्वजनिक गरेका थिए । पालिका सुशासन, पारदर्शीता र जनमैत्री ढंगबाट अगाडि बढेको बताए । करिब चार घण्टा चलेको सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांश सहभागीहरुले जनचासोका विषयमा प्रश्न गरेका थिए ।