
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसलाई लिएर व्यापक चर्चा सुरु भएको छ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक खातामार्फत ‘माननीय मुख्यमन्त्रीज्यू’ शीर्षकसहित सार्वजनिक गरेको भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरभित्र मोटरसाइकल चलाइरहेको देखिन्छ।

भिडियो सार्वजनिक भएपछि हेलमेट प्रयोग नगरी मोटरसाइकल चलाएको विषयलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्। कतिपयले सार्वजनिक पदमा रहेका व्यक्तिले ट्राफिक नियमको पालना गर्नुपर्ने बताएका छन् भने केहीले दिनभर बैसाखीको सहारामा हिँड्ने मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्यप्रति पनि विभिन्न टिप्पणी गरेका छन्।

उक्त भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्रीको सुरक्षा, ट्राफिक नियमको पालना र सार्वजनिक व्यक्तित्वको जिम्मेवारीबारे सामाजिक सञ्जालमा बहस चर्किएको छ। हालसम्म यस विषयमा मुख्यमन्त्रीको सचिवालयले औपचारिक प्रतिक्रिया दिएको छैन।






























