
गाली बेइज्जती मुद्दामा अदालतबाट कैद, जरिवाना र क्षतिपूर्तिको सजाय पाएका पत्रकार खेम भण्डारीलाई कञ्चनपुर कारागार चलान गरिएको छ। फैसला कार्यान्वयनका लागि पक्राउ परेका भण्डारीलाई बिहीबार जिल्ला अदालतको आदेशपछि कारागार पठाइएको हो।

भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार रकम बुझाएर कैद मिलान गरिपाऊँ भन्दै जिल्ला अदालत कञ्चनपुरमा निवेदन दिएका थिए। तर न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त निवेदन अस्वीकार गरेपछि उनलाई कारागार पठाइएको अदालतका तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए।

अदालतका अनुसार रकम तिरेर कैद मिलान गर्ने सुविधा पहिलो पटक कैद सजाय पाएका व्यक्तिका लागि मात्र लागू हुने व्यवस्था छ। यसअघि निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय पाइसकेकाले भण्डारी उक्त सुविधाका लागि अयोग्य ठहरिएका हुन्।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित विषयमा प्रकाशित सामग्रीलाई लिएर दायर गाली बेइज्जती मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो। त्यसविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले थप ७ दिन कैद र २ हजार १०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेपछि उनी पक्राउ परेका थिए। उक्त मुद्दा तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले दायर गरेका थिए।































